बारा— दलिय भागबण्डा र आन्तरिक किचलोको कारण मधेश प्रदेश लगायत देशैभरीमा उम्मेदवारी दर्ताको पहिलो दिन आईतवार देशैभर ३ हजार ५६ जनाले मनोनयन दर्ता गरेका छन् ।
स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित ३५ हजार २ सय २१ पदको लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारहरुले आईतवार देखी मनोनयन दर्ता सुरु गरेका हुन ।
निर्वाचन आयोगले मनोनयन दर्ताको लागी आईतवार र सोमवारको समय निर्धारण गरेको छ । निर्धारण गरिएको मिती तथा समय सिमा भित्र उम्मेदवारी दर्ता गराउन पहिलो दिन थोरै संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
महानगर, उपमहानगर तथा नगरपालिका प्रमुखमा २ सय १८ जना, उपप्रमुखमा १ सय २ जनाले मनोनयन दर्ता गराएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार, गाउँपालिका अध्यक्षमा १ सय ७२ जना, उपाध्यक्षमा ७५ जना, वडा अध्यक्षमा ९ सय २८ जना, वडा सदस्यमा ८ सय ७७ जना, महिला सदस्यमा ३ सय ९६ जना र दलित महिला सदस्यमा २ सय ८८ जनाले मनोनयन दर्ता गराएका छन ।
दलहरुले उम्मेदवार टुङगो लगाउन नसक्दा मनोनयन दर्ता गर्नेको संख्या न्यून रहेको आयोगको भनाई छ । त्यसमा प्रमुख दलका प्रतिनिधिको संख्या न्यून रहेको आयोगले जनाएको छ ।
सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा अझै अन्योलता देखिएको छ ।
आयोगले सोमबार पनि बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नसक्ने समय निर्धारण गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा मेयरमा ८ जना सहित एक सय २७ जनाले मनोनयन दर्ता गराएका छन ।
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाले मेयर पदमा मनोनयन दर्ता गराएका हुन ।
यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । मनोनयन दर्ता गर्नेमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डल रहेका छन् । यस्तै स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतो छन् ।
यस्तै उपप्रमुखमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बबिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अन्य एक सय १६ जनाले वडाअध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको जनाईएको छ ।