बारा– नारायणी प्लाष्टीक उद्योग कलैयाका संचालक निरन्जन अग्रवाल शुक्रवार देखी प्रहरी हिरासतमा परेका छन ।
बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
‘नापतौल कार्यालयले अनुसन्धान गरेको मुद्दामा अग्रवाललाई प्रहरी हिरासतमा राखिएको हो,’ उनले भने, ‘प्रहरीमा उनी विरुद्ध त्यस्तो कुनै मुद्दा छैन ।’ अदालतमा उपस्थित भएका अग्रवाललाई मुद्दा हेर्न समय नभ्याएको भन्दै अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको उनले जानकारी दिए ।
उनी विरुद्ध दर्ता भएको मुद्दा बारा जिल्ला अदालतले शुक्रवार हेर्न नभ्याएपछि अग्रवाललाई प्रहरी हिरासतमा राख्न आदेश दिएको हो ।
अनुमति नै नलिई ढक तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय बीरगंजले अग्रवाल विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
गुणस्तर तथा नापतौल कार्यालय बीरगंजबाट खटिएको अनुगमन टोलीले अग्रवालले संचालन गरेको उद्योगमा अवैद्ध रुपले ढक तराजु प्रयोग गरिएको फेला पारेपछि कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका निरिक्षक सुनील कुमार यादवले जानकारी दिए ।
‘छडके अनुगमन निरिक्षणको क्रममा अग्रवालले संचालन गरेको उद्योगमा अनुमति नै नलिएको ढक तराजुले कारोवार गरी रहेको पाईयो,’ कार्यालयका सुचना अधिकारी समेत रहेका यादवले भने, ‘त्यसपछि ढक तराजुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियौं ।’ अनुसन्धान टुंगिएपछि मुद्दालाई छिनोफानोको लागी अदालत पु¥याईएको उनले जानकारी दिए ।
अनुसन्धान गरिएको फाईल सहित उद्योगी अग्रवाललाई अदालतमा उपस्थित गराएपछि अदालतले कारवाही प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए ।
अदालतले मुद्दाको सुनुवाई आईतवार हुने गरी अग्रवाललाई प्रहरी हिरासतमा राख्न लिखित आदेश दिएको थियो । आदेश कार्यान्वयन गर्न प्रहरीले भ्यानमा राखेर मेडिकल जाचको लागी अपरान्ह करीब ५ बजे अग्रवाललाई कलैया अस्पतालमा पुर्याएको थियो ।
अस्पतालमै अग्रवालसंग भेट्न उनका छोरा आईपुगेका थिए । अस्पतालको भारदलीमा बुआछोरा गोप्य वार्तालाप गरेका थिए ।
स्थानीयले किन बुआलाई प्रहरीले पक्राउ गरेको हो भनी छोरासंग प्रश्न गर्दा आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिएका थिए ।
‘बिहान ८ बजे देखी घरबाट निस्केका बुआले अस्पतालमा आउन फोन गरेपछि एक छिन झसँग भए,’ अग्रवालका छोराले भन्यो, ‘अहिले पनि बुआलाई प्रहरीले किन नियन्त्रणमा लिएको हो कारण खुल्न सकेको छैन ।’ केही बेरको वार्तालापछि छोरा घर तिर र अग्रवाल प्रहरीको गाडीमा बसेर हिरासत कक्षतिर हिडेका थिए ।
हतियार बोकेर दायाबाया प्रहरी बसेपछि अग्रवाल आतिएका थिए । लोकलाजबाट बच्न उनले रुमालबाट मुख छोपेको प्रत्यक्षदर्शीले जानकारी दिए ।