बारा– पुर्व–पश्चिम लोकमार्ग अन्र्तगत बाराको जितपुरसिमरा २१ आधाभार जंगलमा बिहिवार स्कोरपियो दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
स्कोरपियोमा सवार १३ जना यात्री घाईते भएका छन । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सिमराबाट हेटौडा तर्फ जादै गरेको बा १९ च ४३७७ नम्बरको स्कोर्पियो आफै अनियन्त्रित भई सडकको बायापट्टी पल्टिदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कोर्पियो चालक बारा जितपुर सिमरा उपमहानगरपालिका ११ बस्ने २५ वर्षिय लोकनाथ सेढाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
सोही दुर्घटनामा परी जितपुरसिमरा उपमहानगरपालिका ११ कै २२ वर्षिया उषा सेढाई, २ वर्षिय अभय सेढाई, ४ वर्षिय अंशु सेढाई, ४० वर्षिया इच्छा देवी मिजार, ४८ वर्षिय जोगी मिजार, सोही उपमहानगरपालिका वडा नं.०७ बस्ने २५ वर्षिया निर्मला देवी साह, ९ वर्षिय निखिल कुमार साह, ७ वर्षिय निवेश कुमार साह, पर्साको बीरगंज महानगरपालिका ३२ की ५३ वर्षिया लालमुनी देवी, १४ वर्षिया आशा साह, पर्सा बिन्दवासिनी २ बस्ने २२ वर्षिय प्रेम साह, १२ वर्षिय राजु गुप्ता र नाम थर नखुलेको एक नबालक समेत घाईते भएको डिएसपी थापाले जानकारी दिए ।
घाईते मध्ये ९ जनाको बीरगंजस्थित वयोधा अस्पताल र बाकी ४ जनाको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
स्कोर्पियो तिब्र गतिमा गुडाएको कारण अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त स्कोर्पियो घटनास्थलमै रहेको र त्यसलाई प्रहरी चौकी पथलैयामा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
स्कारर्पियोमा सवार सबै जना नयाँ वर्ष मनाउन आ आफ्नो पारिवारिक सदस्य सहित हेटौडा तर्फ जान लागेको अवस्थामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।