जनकपुर– जनकपुरधाम उप–महानगरपालिकाको मेयरमा रमण कन्ट्रक्शनका संचालक बलराम महतोले शनिवार स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।
जनकपुर मुजेलियास्थित रमण टावरमा पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई योग्य उम्म्ेदवार दाबी गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन ।
जनकपुरधामको महत्वकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाईन देखी विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुर्ननिर्माण आफुले नै गरेको उनले जानकारी दिए ।
‘देशको पुर्वाधार निर्माणमा धेरै काम गरे,’ उनले भने, ‘अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने योजना छ ।’ जनकपुरधाम विकासको लागी आफुले तयार पारेको मास्टर प्लानलाई पुरा गर्न र नगरवासीलाई विकासको अनुभूति गराउनले उदेश्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले स्पष्ट पारे ।
पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने महतो पहिलो उम्मेदवार हुन ।
जनकपुरधामको समुचित विकासको लागी कन्ट्रक्शनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
१७ वर्ष भरतपुर सिचाई कार्यालयमा सरकारी जागिर गरेका महतोले २०४७ साल देखी कन्ट्रक्शनको स्थापना गरेर विकास निर्माणको काम गर्दै आएको बताए ।
देशको विभिन्न स्थानमा विगत ३० वर्ष देखी निरन्तर पुर्वाधार विकासमा योगदान पु¥याउदै आएका महतो अहिले आफनै नगरको मुहार फेर्ने योजनामा छन ।
मेयरमा निर्वाचित भएपछि जनकपुरमा विकास निर्माणको लहर नै ल्याईदिने महतोको दाबी छ । लामो समयको अनुभवलाई जनकपुरधामको विकासमा लगाउने उनको भनाई थियो ।
नेकपा माओवादीका नेता एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो क्लासमेट भएको र उनले पार्टीमा प्रवेश गर्न दिएको अवसरलाई ठुकराउदै दलिय कित्ताबाट बाहिर बसेर समाजसेवा गर्ने उदेश्य राखी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको व्यवसायी महतोले बताए ।
‘दलिय कित्ताबाट उम्मेदवार बनेर नगरको विकासको लागी स्वतन्त्र रुपले काम गर्न सकिदैन,’ उनले भने, ‘त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’ दलमा लागेपछि समाजसेवा गर्ने अवसर गुम्ने खतरा देखेपछि स्वतन्त्रबाटै चुनाव लड्ने योजना बनाएको उनले जानकारी दिए ।
उम्मेदवारी घोषणाको क्रममा उनले आफुले अहिले सम्म स्वतन्त्र उम्मेदवारहरुको प्यानल नबनाएको स्पष्ट पारे । यदी कोही स्वतन्त्र उम्मेदवार आफुसंग मिलेर लड्न आए भने त्यसलाई स्वीकारेर अगाडी बढ्ने उनले बताए ।
अहिले सम्म नेपाली काग्रेस, माओवादी, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी लगायतका दलले अहिले सम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।