बाग्मतीलाई पन्छाउदै एपीएफ फाईनल सुरक्षित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 910
4 मि. पढ्न लाग्ने समय

बारा– विभागिय टिम नेपाल एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबाई ४–१ ले पन्छाउदै एपीएफ फाईनलमा प्रवेश गरेको छ ।

एपीएफले अब उपाधीका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिवार खेल्नेछ । आयोजकलाई ३–२ ले पराजित गर्दै एनआरटी यसअघि नै प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ ।

फाईनल यात्रा तय गर्ने क्रममा एपीएफका लागि अर्माण्ड बेडमले दुई गोल गरे भने सविन गुरुङ र प्रदीप लामाले एक/एक गोल गरे । बाग्मतीका लागि भने अनिल राना मगरले गोल फर्काए ।

बाग्मतीमाथी सहज जित हात पार्ने क्रममा एपीएफले खेलको १२ औं मिनेटमा सविन गुरुङको गोलबाट अग्रता लिएको थियो । डिबक्स भित्र पाएको बललाई सविनले गोल गरेका थिए ।

बाग्मतीको रक्षापंक्ती सम्हालिन नसक्दा सविनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । बिएफसी चितवनलाई २–१ र साविक बिजेता संकटा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको बाग्मतीलाई उपाधी दावेदारका रुपमा हेरिएको थियो ।

तर महत्वपूर्ण सेमिफाईनल खेलमा ए डिभिजनको विभागिय टिम एपीएफसंग आकर्षक खेल प्रदर्शन गर्न नसकेपछि बाग्मती अन्तिम चारबाटै घर फर्कन बाध्य भएको हो ।

खेलको सुरुवातमै अग्रता लिएको एपीएफले खेलको १६ औं मिनेटमा दोस्रो गोल गरेको थियो । अर्माण्ड बेडमले एपीएफका लागि गोल गर्दै खेल २–० को स्थितीमा पुर्याएका थिए । अघिल्ला दुई खेलमा आकर्षक खेल प्रदर्शन गर्दै घरेलु दर्शकको मन जितेको बाग्मतीले एपीएफविरुद्ध राम्रो सुरुवात गर्न सकेन् ।

सुरुवाती देखी नै तालमेलको खोजीमा रहेको बाग्मती विरुद्ध एपीएफले दवाव कायम राख्दै स्कोर निकालेको थियो । एपीएफ विरुद्ध दुई गोलले पछि परेपछि दवावमा देखिएको बाग्मतीले खेलको ३६ औं मिनेटमा गोल गर्न अवसर गुमाएको थियो ।

बाग्मतीका कोएरा फ्लोरेन्टले मिलाएको पासलाई सदुपयोग गर्न दीपेश चाम्लिङ राई चुके । डिबक्स भित्र पाएको उत्कृष्ट अवसर सदुपयोग गर्न दीपेश असफल देखिए । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो ।

त्यसलगत्तै बनाएको अर्को अवसरमा भने बाग्मती सफल भयो । अनिल राना मगरले उत्कृष्ट गोल गर्दै बाग्मतीलाई खेलमा फर्काउने प्रयास गरे । उनको प्रहारलाई नियन्त्रणमा लिन एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए् ।

हिमालयन शेर्पाविरुद्ध ३–२ को जित निकाल्दै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफको ईन्जुरी समयमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेन् ।

बाग्मतीबाट खेलेका थ्रिस्टारका गोलरक्षक प्रिसोले बिके तामाङलाई लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपीएफलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा एपीएफका आभाष लामिछाने गोल गर्न चुके । उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाएको एपीएफले खेलको ७९औं मिनेटमा तेस्रो गोल थपेको थियो । अर्माण्ड बेडमले उत्कृष्ट हेडमार्फत गोल गर्दै एपीएफलाई ३–१ को स्थितीमा पुर्याएका हुन् । टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका अर्माण्डको हेडर प्रशंसा गर्न लायक थियो ।

जारी प्रतियोगितामा बेडमको यो तेस्रो गोल हो । बेडमले यसअघि शेर्पाविरुद्ध पनि एक गोल गरेका थिए । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि फिनिसिङमा चुकेको बाग्मतीले खेलको ८३ औं मिनेटमा चौथो गोल खान पुग्यो ।

एपीएफका प्रदीप लामाले डिबक्स भित्र प्राप्त बललाई गोलमा परिणत गरे । उनको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।

खेलको अन्तिम समयमा लगातार दुई गोल खाएपछि दवावमा परेको बाग्मतीले अन्ततः ४–१ पराजय आत्मसाथ गर्न बाध्य भयो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।

एपीएफ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाईनलमा प्रवेश गरेको एपीएफ हिमालय शेर्पासंग पराजित हुँदा उपविजेता बनेको थियो ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस