साविक विजेता संकटालाई पाखा लगाउदै बाग्मती सेमिफाईनलमा सुरक्षित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 790
4 मि. पढ्न लाग्ने समय
????????????????????????????????????

बारा– साविक बिजेता संकटा क्लबमाथी रोमाञ्चक जित हात पार्दै बाग्मती युवा क्लब, सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालमा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा बाग्मतीले संकटा माथी १–० को जित निकाल्दै सेमिफाईनलको लागी स्थान सुरक्षित गरेको हो । बाग्मतीको जितसंगै गोल्डकपको सेमिफाईनलको समिकरण पूरा भएको आयोजकले जनाएको छ ।

बाग्मतीले अब फाईनल प्रवेशका लागि बिभागिय टिम एपिएफ क्लबसंग खेल्नेछ । हिमालयन शेर्पालाई पराजित गर्दै एपिएफ क्लब यसअघि नै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतिस्पर्धात्मक भिडन्तमा बाग्मती संकटामाथी अतिरिक्त समयमा गोल गर्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको २७औं मिनेटमा बाग्मतीका लागि अनिल रानामगरले गोल गरेका हुन् । डिना गुरुङ्गले प्रहार गरेको फ्रि किक बलमा अनिलले टिमका लागि निर्णायक गोल गरेका थिए ।

बाग्मतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरेपनि फिनिसिङ्गमा चुकेको संकटा अन्तत पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो । संकटाले खेलको सुरुवातदेखी बाग्मतीमाथी दवाव सिर्जना गरेको थियो । ए डिभिजनका अनुभवी खेलाडी सहित मैदानमा उत्रिएको संकटा पहिलो हाफमा बाग्मतीलाई कुनै अवसर बनाउन दिएन् ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमायो । खेलको ३५औं मिनेटमा फोडे फोफनाको क्रसमा संकटाका दीपेश आले मगरले राम्रो अवसर खेर फाले । डिबक्स भित्र फोफनाले मिलाएको पासलाई दीपेशले नियन्त्रणमा लिन सक्दा प्रहार सशक्त हुन सकेन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ईन्जुरी समयमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै टिमका प्रशिक्षकलाई प्लेयरबक्स बाहिर पठाएका थिए ।

प्रशिक्षक विहिन अवस्थामा दोस्रो हाफमा सुरु गरेका दुवै टिमबीचको खेल हेर्नलायक थियो । करिब चार हजार घरेलु दर्शकको उपस्थिती रहेको रंगशालमा संकटा दोस्रो हाफमा पनि हाबी देखियो ।

खेलको ६२ औं मिनेटमा संकटाका फोफना वन भर्सेस वनको अवस्थामा चुके । उनको प्रहार पोष्टमा ठोक्किएर फर्कियो । लगत्तै यानिकले अर्को मौका गुमाए । फोफनाको क्रस बललाई उनले पोष्टको दिशा दिन सकेनन् ।

बाग्मतीले दोस्रो हाफमा धेरै अवसर बनाउन सकेन् । खेलको ८२औं मिनेटमा सुसन लामाले निकालेको पासमा डिना गुरु गोल गर्न चुके । दवावमा देखिएको बाग्मतीले संकटाको अग्रपंक्तीका खेलाडीलाई सफल हुन भने दिएनन् ।

निर्धारित समयमा दुवै टिमले स्कोर गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको खेल पनि आफ्नो नियन्त्रणमा राखेको संकटाले थुप्रै अवसर गुमायो ।

संकटाले अवसर गुमाईरहदा खेलको एक सय १७ औं मिनेटमा बाग्मतीले फ्रि किकको अवसर पाएको थियो । उक्त फ्रि किक बलमा बाग्मतीले बिजयी गोल गर्न सफल भएको थियो ।

डिना गुरुङ्गले प्रहार गरेको फ्रि किक बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड बलमा अनिलले हेड मार्फत गोल गरेका थिए । बलियो देखिएको संकटाविरुद्ध स्कोर निकालेपछि उत्साहित बाग्मतीले अन्तिम समय सम्हालिएर खेल्दै नजिता आफनो पक्षमा पारेको हो ।

खेलको म्यान अफ दि म्याच बाग्मतीका अभिशेष वाईवा घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत बुधवार एनआरटी क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच पहिलो सेमिफाईनल खेल हुने आयोजकले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस