जीतपुरसिमरा गोल्डकप आज देखी, उदघाटन खेलमा फ्रेण्ड्स र सुदुरपश्चिम भिडदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 705
2 मि. पढ्न लाग्ने समय

बारा– मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२ औं संस्करण बिहिवार (आज)देखी सुरु भएको छ ।

नव जनजागृति युवा क्लबको आयोजनामा बिहिवार अपरान्ह ५ बजे सिमरा रंगशालामा प्रतियोगिताको उदघाटन खेल सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल फ्रेण्ड्स क्लब र सुदुरपश्चिम ११ बीच हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन ।
प्रतियोगितामा ए डिभिजनका पाँच सहित प्रतियोगितामा १० टिमको सहभागीता रहने लामाले जानकारी दिए ।

प्रतियोगितामा साविक बिजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, एपिएफ एफसी, सुदुरपश्चिम ११, बिएफसी चितवन, बिजय युथ हेटौडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा सहभागी हुने लामाले जानकारी दिए ।

फल्ड लाईटमा हुने डे–नाईट प्रतियोगिताको बिजेताले रु १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्ने जनाईएको छ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ ।

११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पँचास हजार थियो । चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् ।

आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा हुने प्रतियोगिताको लागत करिब ८३ लाख रहेको आयोजकले दाबी गरेको छ ।

११ औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो । १० औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो ।

स्थानिय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा २० लाख आर्थिक सहयोग उपलब्ध गराएको उपमहानगरपालिकाले यस संस्करणमा २५ लाख उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधीभरका लागी वीरगंजस्थित लुम्बिनी जनरल ईन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवक, पत्रकारलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको विमा गर्ने भएको छ ।

यो लेख शेयर गर्नुहोस