बारा– बाराको कलैयामा मंगलवार बिहान दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा दुबै मोटरसाईकलमा सवार पाच जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका ५ बालमन्दिर नजिकै तिब्र गतिमा रहेका दुबै मोटरसाईकल बिहान करीब ७ बजे एक आपसमा जुद्धेका हुन ।
कलैयाबाट बीरगंज तर्फ जादै गरेको बा १७ प ९९२३ नम्बरको एफजेड मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको केटीएम मोटरसाईकल एक आपसमा जुद्धेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
उक्त दुर्घटनामा परी घाईते हुनेमा केटिएम मोटरसाईकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षिय पवन गुप्ता र पछाडी सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को एफजेड मोटरसाईकलका चालक फेटा गाउपालिका १ भलुही बस्ने १९ वर्षिय प्रदिप कुमार दास, सोही मोटरसाईकलमा पछाडी सवार भलुहीकै २० वर्षिय रोहित कुमार दास, १९ वर्षिय रामविनय दास घाईते भएको उनले जानकारी दिए ।
घाईते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाईकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरुको बीरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
रोहित तथा रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।