
पवन यादव
धनुषा–धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक सशस्त्र प्रहरी सहित दुई जनालाई पक्राउ गरेको छ ।
वडाध्यक्ष यादवको छातीमा गोली हानी हत्या गरेको आरोपमा धनुषा प्रहरीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार शम्भु यादव र धर्मनाथ यादवलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जना वडाध्यक्ष विन्देश्वरका छिमेकी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक रुगम कुवँरले जानकारी दिए । सशस्त्र प्रहरी हवल्दार शम्भु ५ दिनको विदा लिएर यही २७ गते घर आएका थिए ।

संघियता लागु भएपछि यादव एक पटक जसपाको टिकटमा र अर्को पटक स्वतन्त्रबाट गरी दुई पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । हालसालै उनी एमालेमा प्रवेश गरेको बताईएको छ ।
स्थानीय दुःखी यादवको १३ औं दिनको पुण्य तिथीमा गाउमै आयोजित श्राद्धभोजमा गाउले सबै सरिक भएका थिए ।
त्यही क्रममा वडाध्यक्ष र अर्को पक्षमा विवाद भएको थियो । विवादले उग्ररुप लिई झडपमा परिणत हुदा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही झडपमा परेर वडाध्यक्ष पक्षका ४ जना गोलीको छर्रा लागेर घाईते भएका छन । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा प्रयोग भएको एक थान कटुवा पेस्तोल समेत फेला पारिएको प्रहरी उपरिक्षक कुवँरले जानकारी दिए ।
घटनामा संलग्न अन्य व्यक्तीको खोजी कार्य र थप अनुसन्धान सुरु गरिएको प्रउ कुवँरले जानकारी दिए ।

