प्रदेश प्रमुखलाई भेटेका ७ दलले राखे सभामुखप्रतिको असन्तुष्टि

गढी न्यूज

मधेश भवनस्थित प्रदेश प्रमुखको सरकारी निवासमा पुगेका सात दलका नेताहरुले सभामुख रामचन्द्र मण्डलको व्यवहारबारे गुनासो गरेका थिए । प्रदेश प्रमुख लाभसँगको भेटघाटमा उपस्थित जसपाका प्रमुख सचेतक रामआशिष यादवले सभामुख मण्डलले पद अनुकूलको आचरण नगरेको बताए । त्यही कारण बिहीबार प्रस्ताव पेस गर्न पुगेका सात दलका सांसदमाथि मण्डलले हातपात र दुर्व्यवहार गरेको जानकारी प्रदेश प्रमुखलाई गराइएको उनले बताए ।

‘प्रदेश प्रमुखलाई अहिले विकसित सबै घटनाक्रमका बारेमा हामीले ब्रिफिङ गर्‍यौ,’ सांसद यादवले भने, ‘प्रदेशसभा सञ्चालनका लागि वातावरण बनाइदिन पनि आग्रह गरेका छौं ।’

प्रदेश प्रमुख कर्णसित पूर्व मुख्यमन्त्री सरोजकुमार यादव (बारा), निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायत सात दलका सांसदले भेटघाट गरेका हुन् ।

प्रदेश प्रमुखका नियुक्त भएका लाभ बिहीबार जनकपुर आएर कार्यभार सम्हालेका छन् । राजनीतिक दलका प्रतिनिधिसित उनले मधेशमा देखिएको राजनीति गतिरोधबारे परामर्श थालेका छन् ।

यता, सभामुख मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित रहेका ५ जना सांसदलाई पदमुक्त गरेपछि हाजरी रेकर्ड माग्न पुगेका सांसदहरुलाई आलटाल गरिएका छन् । जसपाका नेता जितेन्द्र यादवका अनुसार बिहान ११ बजेदेखि प्रदेशसभा सचिवालयमा हाजिरी रेकर्ड माग्दा पनि अहिलेसम्म नदिएको बताए ।

Share This Article