डिप बोरिङमार्फत तीनसय हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

गढी न्यूज


चितवन– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो।
ती आयोजनामार्फत करिब तीनसय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ। वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताए।

उनका अनसुसार हस्तान्तरण भएका आयोजना नर्मदेश्वर र मनकामना भरतपुर–१५०, रुखेनी भरतपुर–१८०, संगम, सम्झौता र जुनतारा भरतपुर–२१०, पटिहानी पर्सा भरतपुर–२२०, ठाडोखोला, केरुङ, साँगे र फाल्गुनी भरतपुर–२३०, भगौली भरतपुर–२५० र झ्याउरेटाँडी भरतपुर–२७० रहेका छन्।
आयोजनामा करिब सात करोड ३२ लाख ७९ हजार चारसय ४५ रुपैयाँ खर्च भएको छ। साथै कुल १९ हजार पाँच सय ३१ मिटर पाइपलाइन जडान गरिएको छ। यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति भइ उत्पादनशील जमिन विस्तार गरेको छ।
उपभोक्ता किसानले परियोजनाबाट खडेरी समयमा बाली लगाउन सहज भएको अनुभव बताएका छन्। पटिहानी पर्साका सेवाग्राही यमप्रसाद लामिछानेले आयोजना निर्माणले सिँचाइ समस्या समाधान भएको बताए। त्यस्तै, भरतपुर–१५ नर्मदेश्वर आयोजनाका मनिभद्र कँडेलले खडेरी जमिनमा पानी पुगेपछि किसान खुसी भएको उल्लेख गरे।
फाल्गुनी र केरुंगा आयोजनाका सेवाग्राही अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलस्रोतमार्फत अब खेतबारीमा सिँचाइको सुविधाले सहज भएको बताए। त्यस अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जनिम बाँझो हुने समस्या समाधान भएको बताइन्।
उनले नारायणी लिफ्ट, खगेरी सिँचाइ लगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे।

Share This Article