विषादीमुक्त भान्साका लागि कौसी खेती

गढी न्यूज

मधु राई
मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।
बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले विषादीमुक्त भान्सा अभियान अन्तर्गत तालिम प्रदान गरेको छ।
तालिममा सहभागीहरूले घरेलु विधि अपनाई जैविक मल र झोल मल बनाउनका लागि आवश्यक जानकारी प्राप्त गरेका छन्।
सहरी कृषिमा कौसी र करेसाबारीको महत्त्व बुझ्नका लागि तालिम र गोष्ठीहरूको आयोजना गरिए पनि प्रभावकारीता कम रहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
अघिल्लो महिना विराटनगर–४ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले ‘विषादीमुक्त भान्सा अभियान’ अन्तर्गत विषादीमुक्त तरकारी उत्पादन गर्ने भनेर तीनदिने तालिम दियो ।
यस्तै सहकारीमा आबद्ध आफ्ना ५० जना अंशियारलाई कौसी र करेसाबारीमा उत्पादन हुने तरकारी र फलफूललाई रोगकिराहरूबाट बचाउन स्थानीय बोटबिरुवा प्रयोग गरी घरेलु विधि अपनाई जैविक विषादी बनाउन सकिने बारेमा थोरबहुत जानकारी दियो ।
तालिमको दोस्रो दिन यो पंक्तिकारले पनि कौसी र करेसाबारीमा विषादीमुक्त तरकारी उत्पादन गर्दा चाहिने जैविक मल आफ्नै भान्साबाट निस्कने फोहोरलाई पुनः प्रयोग गरी बनाउन सकिने कुरा सहभागीलाई सुनाउने अवसर पायो । उक्त कार्यक्रममा सहभागीमध्ये कतिपयले परम्परागत रूपमै कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको कुरा सुनाए । तालिममा सहभागी अधिकांशले भान्साबाट निस्कने काँचो अर्थात् हरियो फोहोर र पाकेको फोहोरलाई पुनः प्रयोग गर्न सकिने कुराबारे राम्ररी थाहा नपाएको भनी चासो पनि राखेका थिए ।
पुरुषभन्दा पनि सबै उमेर समूहका महिला अंशियारको बाहुल्य रहेको उक्त तीनदिने तालिममा कतिपय पुरुष सहभागीले कौसी तथा करेसाबारीमा मल, माटो र विषादीबारे राम्ररी थाहा नपाएर पनि मिहिनेत गरेअनुसार जैविक तरकारी उत्पादन गर्न गाह्रो भएको आफ्नो अनुभव सुनाए । खासमा कौसी होस् वा करेसाबारी– तरकारी उत्पादन गर्दा चाहिने जैविक मल तथा झोल मलबारे त्यति धेरै जानकारी नहुँदा पनि अधिकांश सहरवासीको करेसाबारी नभए पनि कौसी बाँझो रहने गरेको छ । हुन पनि हो– भान्साबाट निस्कने दुई किसिमको फोहोरबाट जैविक मल तथा झोल मल बनाउन त्यति झन्झटिलो पनि छैन । यसका लागि सर्वप्रथम काँचो अर्थात् हरियो फोहोर तथा बिहान–बेलुकी उब्रेको खानेकुरालाई राख्न दुईवटा अलग–अलग भाँडा राख्न जरुरी छ ।
यसरी भान्साबाटै अर्थात् मुहानबाटै वर्गीकरण गरिएको जैविक फोहोरबाट जैविक मल र झोल मल बनाउन सर्वप्रथम हरियो फोहोरलाई ससाना टुक्रा बनाई माटोसँगै मिसाई गमला अथवा ग्रो ब्यागमा राख्न सकिन्छ भने यस्ता काँचो फोहोर रोपेको बिरुवाको वरिपरि राख्न सकिन्छ । यस्तै हरियो फोहोरबाट झोल मल बनाउनका लागि भने कौसीको एउटा कुनामा दुईवटा ढकनीसहितको बाल्टी नभए रङको भाँडा चाहिन्छ । यस्तै तलको भाँडाको ढकनीमा स–साना प्वाल बनाउनुपर्छ भने अर्को माथि खप्टाएर राख्ने भाँडाको पिँधमा पनि स–साना प्वाल बनाउनुपर्छ । यस्तै तलको भाँडाको एकातिर एउटा सानो प्वाल बनाउनुपर्छ र प्वालबाट निस्कने हरियो झोल पदार्थ जम्मा गर्न प्वालको सिधा तल ठूलो मुख भएको बाटा अथवा बाल्टी राख्नुपर्छ । माथिको भाँडालाई पनि छोप्नुपर्छ ताकि वर्षाको अतिरिक्त पानी भित्र नपसोस् ।
यसरी माथिको भाँडामा राखेको काँचो फोहोर केही दिनमा कुहिन थाल्छ र यसबाट झोल पदार्थ चुहिन थाल्छ । उक्त झोल पदार्थलाई जम्मा गरेर एक भाग झोल मलमा चार भाग सामान्य पानी मिसाई दुई–चार दिनको अन्तरालमा बोटबिरुवामा हाल्नुपर्छ । यस्तै पाकेको अर्थात् उब्रेको खानेकुरालाई सुक्खा माटोमा मिसाएर केही दिन घाममा फिँजाएर सुकाएपछि उक्त फोहोर माटोमै परिणत हुन्छ । यस्तो माटोलाई पुनः नयाँ बिरुवा रोप्दा तथा नयाँ माटोसँग मिसाएर पुनः प्रयोग गर्न सकिन्छ । यसो हुँदा हरेक पटक बिरुवा रोप्दा नयाँ माटो चाहिँदैन ।
यस्तै घरेलु विधि अपनाई मैले कौसी खेतीमा मौसमी तरकारी र फलफूल उत्पादन गरेको डेढ दशकभन्दा बढी भयो । त्यतिमात्र होइन, विगत केही वर्षदेखि कौसी र करेसाबारीसम्बन्धी तालिममा सहजकर्ताको भूमिकासमेत निर्वाह गर्दै आएकी छु । विभिन्न प्रशिक्षार्थीलाई मेरो कौसी खेतीको अवलोकन पनि गराएकी छु ।
मेरो कौसीमा बाह्रैमासे विभिन्न थरीका खुर्सानी मात्र हैन, यसपालिदेखि बगरमा फल्ने गरेको खरबुजा फलाउन थालेकी छु । यस्तै आफू विज्ञानको विद्यार्थी भएकाले मेरा पूर्वप्राविका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानलगायत साताको एक दिन कौसी खेतीको अवलोकनले जीवन्त र व्यावहारिक शिक्षण सिकाइ गर्न सहज भएको छ ।
खासमा कौसी र करेसाबारीमा जैविक तरकारी वा फलफूल उत्पादन गर्दा चाहिने मल र माटोको विषयमा अधिकांश सहरवासी अनभिज्ञ रहँदै आएका कारण पनि सहरी कृषिको प्रवर्द्धनमा कौसी र करेसाबारीको भूमिका र यसको महत्त्वबारे सम्बन्धित निकाय र यसका पदाधिकारीसमेत अनभिज्ञ देखिन्छन् । यी र यस्ता कतिपय कारणले पनि सहरी कृषिको कुरा नै ओझेलमा पर्दै आएको छ ।
हुन पनि हो यी र यस्ता कतिपय कारणले गर्दा पनि मानव स्वास्थ्यका लागि नभई नहुने तरकारीजन्य वस्तुमा परनिर्भरता अचाक्ली बढ्दै गएको छ । त्यसो त पछिल्लो समय कतिपय पढेलेखेका सहरवासीले जानी नजानी आफ्नो कौसी र करेसाबारीमा जैविक तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् भने उनीहरूमध्ये कतिपयले आफूले उत्पादन गरेका तरकारी र फलफूल सामाजिक सञ्जालमा पोस्टसमेत गर्ने गरेका छन् । तथापि, यी र यस्ता विषयमा नगण्यले मात्र चासो राखेको पाइन्छ ।
विगत केही समययता कतिपय सहकारी तथा संघसंस्थाले कौसी र करेसाबारीमा जैविक तरकारी र फलफूल उत्पादन गर्न तालिम तथा गोष्ठी आयोजना गर्न थालेका छन् । यद्यपि यस्ता तालिम र गोष्ठीले पनि सहरी कृषिको प्रवर्द्धनमा कौसी र करेसाबारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा सहभागीहरूलाई बुझाउन सकेका छैनन् । यसैको दुष्परिणाम भन्नुपर्छ– आयातित तरकारी र फलफूलमा बढेको परनिर्भरताले देशको अर्थतन्त्रमै नकारात्मक र दूरगामी प्रभाव पार्दै छ । साभार कान्तिपुर अनलाइन

Share This Article