काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कन केन्द्रीय समितिले लगाएको रोक अर्को महिना हुने पार्टीको विधान महाधिवेशनमा छलफलको मुद्दा बनाउने उनको पक्षमा खुलेका नेताहरूले बताएका छन्।
नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले एक वर्षअघि नै गरेको भनिएको पार्टी सदस्यता नवीकरण स्थगित गर्ने निर्णय गत साता एमाले केन्द्रीय समितिको बैठकले गरेको थियो।
बैठकको निर्णयबारे फरक मत राखेका पार्टी नेताहरूले त्यसलाई पार्टीमा बहसको विषय बनाउने बताएका छनन्।
उक्त निर्णय ‘सच्याउन’ आफूहरूले पार्टीका तल्लो तहका प्रतिनिधि र कार्यकर्ताहरूसँग बहस चलाउने केन्द्रीय समितिको निर्णयमा फरक मत राखेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए।
“विधान महाधिवेशनमा यो स्वतः छलफलको विषय बन्ने नै हो त्यसमा कुनै शङ्का नै भएन। छलफल हुन्छ, हामीले पनि त्यहाँ आफ्ना रायहरू दिन पाउँछौँ। त्यहाँ तल्लो तहका र माथिल्लो तहका नेताले पनि राय दिन पाउँछन्,” ज्ञवाली भन्छन्।