सुधारगृहका बालबालिकामा फैलियाे चर्मराेग

गढी न्यूज

बीरगन्ज – गर्मी बढेसँगै वीरगन्जस्थित बालसुधार गृहमा चर्म रोग पनि फैलिएको छ । गृहमा आश्रित बालक तथा किशोरहरूमा अहिले चिलाउने, लुतोको संक्रमण फैलिएको छ । गृहकी स्टाफ नर्स अन्जु कुमारी झन्डै एक महिनायता यो रोगको संक्रमण फैलिएको बताउँछिन् । ‘

साँघुरो गृहमा कोच्चिएर बसेका बालक तथा किशोरहरूमा छिट्टै चर्म रोग फैलिएको हो,’ उनले भनिन्, ‘एक त प्रचण्ड गर्मी त्यसमाथि एउटै कोठामा १० देखि १५ जना सम्म कोच्चिएर बस्नु परेको अवस्था छ ।’

यसरी रोग लागेकाहरूसँग सम्पर्कमा आउनेलाई छिट्टै चर्मरोग सर्ने भएकाले गृहमा यो रोग तीव्र गतिमा विस्तार भएको उनले बताइन् । गर्मीका कारण दैनिक एक/दुई जना गृहमा आश्रित बालक बेहोस भइरहेको उनले बताइन् । ‘दैनिक एक/दुई जनाको दरले यसरी बेहोस भएका छन्,’ उनले भनिन्, ‘दैनिक कोही न कोही अस्पताल भर्ना गर्न लाने गरेका छौं ।’

गृहका निमित्त प्रमुख रवीन्द्रकुमार साह गृहको भौतिक संरचना जीर्ण र साँघुरो भएकाले बर्सेनि गर्मी महिनामा गृहमा समस्या हुने गरेको बताउँछन् । करिब २ कठ्ठा क्षेत्रफलमा मात्र फैलिएको गृहमा जम्मा ९ कोठा छन् । कोठाको आकार अनुसार तीनमा १० देखि १५ जना सम्म आश्रितलाई राख्नु पर्ने बाध्यता रहेको उनले बताए । गृहमा हाल १ सय २८ जना बालक तथा किशोर आश्रित छन् । यो क्षमताभन्दा करिब तेब्बर बढी संख्या हो ।

साँघुरो गृह परिसरमा खाना पकाउने मेस मुश्किलले सञ्चालन गरिएको छ । खेल मैदानको अभावले दिनभर गृहमा आश्रित बालक तथा किशोरहरू गफ गरेर बस्नु पर्ने बाध्यता छ । साँघुरो गृह परिसरमै गृहको कार्यालय, प्रहरीको युनिटसमेत सञ्चालनमा छ ।

Share This Article