आयात गरेकै वस्तु निर्यात गरेर कति रमाउने 

गढी न्यूज

आयातको तुलनामा असाध्यै न्यून निर्यातका कारण सधैं उच्च व्यापार घाटा बेहोर्दै आएको नेपाली अर्थतन्त्रका लागि आर्थिक वर्ष २०८०÷८१ को तथ्यांकले सान्त्वना दिएको छ । कारण, निर्याततर्फ रेकर्ड बनेको छ । यस आर्थिक वर्षमा अहिलेसम्मकै बढी २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८१।८० प्रतिशतले बढी हो ।
तथ्यांकले हामीले पनि निर्यात बढाउन सक्ने सम्भावना देखाउँछ । यद्यपि यो तथ्यांकबाट उत्साहित भइहाल्नुपर्ने विषय भने रहेन । हामीले कस्ता वस्तुको निर्यात गरिरहेका छौं र तथ्यांकमा सुधार गरिरहेका छौं भन्ने विश्लेषण अपरिहार्य छ । जुन त्यति उत्साहबर्द्धक छैन । किनकि, आर्थिक वर्ष २०८१र८२ मा निर्यात गरिएका कुल वस्तुको आधा हिस्सा खाने तेलको देखिन्छ ।
जुन मूलभूत रूपमा नेपालको उत्पादन होइन । तेस्रो देशबाट आयात गरेर सामान्य प्रशोधनपछि भारतमा निर्यात गर्दा तथ्यांकमा सुधार देखिएको छ । यस्तो तथ्यांक दीर्घकालीन होइन, नेपालको अर्थतन्त्रमा गुणस्तरीय लाभ पनि दिँदैन । त्यसैले स्वदेशी उत्पादनकै निर्यातको सम्भावनालाई साकार बनाउन प्रयत्नशील हुनुपर्छ ।
आर्थिक वर्ष २०८१र८२ मा १५ खर्ब ९२ अर्ब ९८ करोडको वस्तु आयात हुँदा २ खर्ब ७७ अर्ब ३ करोडको वस्तु मात्रै निर्यात गर्न सकेको थियो । यद्यपि, आर्थिक वर्ष २०८०र८१ भन्दा २०८१र८२ मा निर्यात झन्डै दोब्बर भएको छ । यसको मुख्य कारण खाने तेलको निर्यात हो । आर्थिक वर्ष २०८१र८२ मा भटमास, सूर्यमुखी र पाम तेल १ खर्ब २१ अर्ब ५२ करोड बराबरको निर्यात भएको छ ।
त्यही वर्ष १ खर्ब ४४ अर्ब ७८ करोडको भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमै भटमासको तेल पर्छ । आर्थिक वर्ष २०८१र८२ मा १ खर्ब ६ अर्ब ७९ करोड भटमासको तेल निर्यात भएको थियो । यही आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ९५ करोड आयात भएको छ । निर्यात सूचीको तेस्रो नम्बरमा सूर्यमुखीको तेल छ । १२ अर्ब ३२ करोडको सूर्यमुखीको तेल निर्यात हुँदा २९ अर्ब २ करोडको आयात भएको छ । यसरी निर्यातभन्दा आयात बढी भएको वस्तुले निर्यातको तथ्यांकमा अस्वाभाविक बढोत्तरी ल्याएको देखिन्छ ।
नेपालमा सूर्यमुखी, तोरी, भटमासको तेल वार्षिक साढे ३ देखि ४ लाख टन खपत हुन्छ । जबकि यहाँ भटमास, तेलहन ९तोरी, आलस, सूर्यमुखी० सहित वार्षिक ३ लाख ८ हजार टन ९कच्चा पदार्थ० मात्र उत्पादन हुन्छ । अपुग कच्चा पदार्थ उद्योगीले आयात र प्रशोधन गरेर स्वदेशको माग पूरा गर्छन्, मुख्यगरी भारततर्फ निर्यात गर्छन् । आयात गरिएको कच्चा पदार्थ निर्यात गर्दा करिब एक सय दिनमै चक्र पूरा हुने र नाफा पनि उल्लेखनीय हुने व्यापारीको अनुभव छ ।
केही नगर्नुभन्दा आयात र निर्यातको यही चक्र पनि उचित नै हो । तर तेस्रो मुलुकबाट भित्र्याएर यहाँ भ्यालु एड ९मूल्य अभिवृद्धि० मात्रै गरी भारत निर्यात गर्दै जाँदा यसमै अभ्यस्त बन्दै जाने जोखिम छ । यस्तो प्रवृत्तिले तथ्यांकमा परिवर्तन ल्याउनेबाहेक धेरै लाभ प्राप्त हुन सक्दैन । बरू अन्तर्राष्ट्रिय व्यापार साझेदारीमा नेपालको विश्वसनीयता कमजोर बनाउने जोखिम छ । मुख्यतः भारतले हामीलाई प्रतिकूल असर पर्ने गरी नीतिगत परिवर्तन गरेको अवस्थामा हाम्रा उद्योग नै धराशायी बन्न सक्छन् ।
आर्थिक वर्ष २०८१र८२ मा आयात र निर्यात दुवै बढ्दा व्यापार घाटा पनि ६ प्रतिशतले बढेको छ । यसको कारण प्रस्ट छ । किनकि, निर्यात वृद्धिमा उल्लेखनीय प्रभाव पार्न सक्ने गरी स्वदेशमा कुनै पनि वस्तुको उत्पादनमा व्यापक बढोत्तरी भएको छैन । त्यसैले सरकारका नीति स्वदेशमा उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । बढी आयात हुने गरेका र नेपालमा पनि उत्पादनको राम्रो सम्भावना भएका वस्तुलाई प्राथमिकता दिन सकियो भने आयातलाई न्यूनीकरण गर्न सकिन्छ ।
अर्कोतर्फ, हामीमा प्रशस्त उत्पादन हुने र अन्यत्र पनि माग हुने वस्तुको उत्पादनलाई पनि प्राथमिकता दिनुपर्छ । खासगरी नेपालबाट निर्यात हुने वस्तुमध्ये भारतमा मात्रै करिब ८२ प्रतिशत जान्छ, ऊ विश्व बजारको १० प्रतिशत हिस्सा हो । तर हामीकहाँ भारतीय बजारकै पनि उल्लेखनीय विश्लेषण हुन सकेको छैन । त्यहाँको मागको प्रकृति, उपभोगको संस्कृति, अन्य देशबाट भारतमा भइरहेका निर्यात जस्ता पक्षको विश्लेषण गर्ने र हामीकहाँ उत्पादन रणनीति बनाउने पहल हुनै सकेको छैन । जसले गर्दा भारत जस्तो ठूलो बजारको छिमेकी नै भएर पनि हामीले लाभ लिन सकेका छैनौं ।
आयातित कच्चा तेलको आयात, प्रशोधन र निर्यातबाट माथि उठेर स्वदेशी उत्पादनकै निर्यात बढाउन सकिने प्रशस्तै सम्भावना छ । ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको मुलुकले कृषिजन्य उत्पादनलाई नै प्राथमिकता दिन सक्यो भने हाम्रो अनुभव र आर्थिक उपार्जन दुवै जोडिन सक्छन् । त्यसमा पनि चिया, कफी, अलैंची, अदुवा जस्ता उत्पादनको अहिले पनि युरोपदेखि अमेरिकासम्म माग छ । यार्चागुम्बा जस्ता जडिबुटीको माग र मूल्य दुवै उच्च छ ।
गलैंचाका लागि त नेपाल पहिल्यैदेखि परिचित छ । हस्तकलाका सामान पनि सम्भावना राम्रो छ । पछिल्ला वर्षमा नेपाली फ्याक्ट्रीमा उत्पादित प्लाइउड, सिमेन्ट, जुत्ता, फलामजन्य वस्तु, तयारी कपडा, जुटको कपडाको निर्यात बढेको छ । यी र यस्तै वस्तुको उत्पादन र निर्यातलाई नै व्यापक बनाउँदै लैजान सकिन्छ । तर यसका लागि सरकारका नीतिहरू उत्पादकमैत्री हुनुपर्छ ।
उत्पादकले पनि गुणस्तरीय उत्पादन, गुणस्तरको स्थिरता वा सुधार, निरन्तर उपलब्धता, आकर्षक प्याकेजिङ, ब्रान्डिङ जस्ता पक्षलाई ख्याल गर्नुपर्छ । अर्कोतर्फ कृषिजन्य उत्पादन वा जडिबुटीको कच्चा उत्पादन नै निर्यात गर्नुभन्दा पनि प्रशोधित वस्तुको निर्यात गर्न सकियो भने यहाँका कृषि उत्पादनले प्रोत्साहन त पाउनेछन् नै, रोजगारी पनि सिर्जना हुन्छ र बढी आम्दानी पनि हुनेछ ।
दीर्घकालीन दृष्टिमा नेपालको निर्यात सम्भावना कृषि र कुटिर उद्योगसँग जोडिएको छ । यसमा युवा उद्यमशीलता, सहकारी नेटवर्क र प्रविधिमा आधारित प्रशोधन संयन्त्रले ठूलो भूमिका खेल्न सक्छ । सरकार, स्थानीय तह र निजी क्षेत्र मिलेर स्वदेशमै उत्पादन र प्रशोधन गरिएका वस्तु प्रवर्द्धन गर्न सकेमा नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पनि दिगो उपस्थिति जमाउन सक्छ । यस्ता उत्पादनले अर्थतन्त्रमा लगानी तथा रोजगारी र नवप्रवर्तनमा अवसर पनि ल्याउनेछन् ।

TAGGED:
Share This Article