डाेल्पा-उपल्लाे डाेल्पास्थित चिनियाँ नाकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेकाे छ ।नाकाकाे स्थलगत अवलोकन गर्ने उद्देश्यका साथ सुरक्षा-प्रशासनको पहिलोपटक पुगेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत, प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्का लगायतकाे सुरक्षा टाेली पहिलोपटक पुगेकाे डाेल्पाेबुद्व गाउँपालिकाले जनाएको छ । टाेलीमा गाउँपालिकाका अध्यक्ष कार्मा छाेइबेल गुरुङ, उपाध्यक्ष पेम्बा धाेर्चे गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा, शिक्षा शाखा प्रमुख निर्माेद केसी पनि सहभागी थिए ।
नेपाल-चीन सीमावर्ती माेरिम्ला नाका पुगेर टाेलीले आफ्नाे देशकाे साँध सिमानाकाे स्थलगत अवलोकन गर्नुका साथै १५ नम्बर पिल्लरकाे अवस्था समेत बुझेकाे थियाे । नाकाकाे भ्रमणसँगै उपल्लो डाेल्पाका तीनवटा पालिकामा राष्ट्रिय परिचयपत्र वितरणकाे अवस्था बुझेकाे प्रजिअ महतले बताए । ‘एक साताकाे भ्रमणमा निस्केका थियौं । उपल्लो डाेल्पामा राज्यको उपस्थिति, जनताका गुनासा, सेवाप्रवाह, विकास निर्माणकाे अवस्था समेत प्रत्यक्ष रुपमा जान्ने अवसर मिल्यो,’ उनले भने ।
भ्रमण टाेलीले १ सय ५४ वटा सीमापास समेत जारी गरेको छ । प्रत्येक वर्ष १५ देखि ३० दिनसम्मका लागि माेरिम्ला नाका खुल्ने गर्छ । यस अवधिमा यार्चा व्यापार, दैनिक उपभाेग्य वस्तु तथा लत्ताकपडाकाे खरिदबिक्री हुन्छ ।
भ्रमण टाेलीसँग उपल्लो डाेल्पावासीले पाँचबुँदे मागसमेत राखेका थिए । जतिसक्दो चाँडाे सीमा सुरक्षा बल राख्नुपर्ने, भेरी करिडोरकाे ल्यासिक्याप-सिसाैल सडक छिटो निर्माण सुरु गर्नुपर्ने, इलाका प्रशासन कार्यालय स्थापना, माेरिम्ला नाका नियमित र कानुनी रुपमा सञ्चालन र नेपाल टेलिकमकाे फाेरजी इन्टरनेट सेवा विस्तारको पहल गर्नुपर्ने उनीहरुको माग छ ।
यस अवधिमा सीमावर्ती प्रहरी चाैकीकाे स्थलगत अवलोकन गर्नुका साथै उनीहरुका समस्या तथा गुनासा पनि सुनिएको डीएसपी खड्काले बताए ।